सामाजिक संजाल:

ब्लड बैंक अभावबीच कालिकोट अस्पतालमा सफल शल्यक्रिया

चैत्र २४, २०८२

कालिकोट — नरहरिनाथ गाउँपालिका–९ की २३ वर्षीया जुनिता दर्जीलाई जटिल अवस्था भएपछि जिल्ला अस्पताल कालिकोटमा रिफर गरिएकोमा शल्यक्रिया मार्फत सुरक्षित रूपमा बच्चा जन्माइएको छ। आमा र नवजात शिशुको अवस्था अहिले सामान्य रहेको चिकित्सक डा. पाण्डे बताए ।
शल्यक्रियामा संलग्न डा. दर्शनराज पाण्डेका अनुसार गर्भमा रहेको बच्चा उल्टो (बृच) अवस्थामा रहेकाले सामान्य प्रसूति सम्भव नभई शल्यक्रिया गर्नुपरेको हो। उनले अस्पतालमा ब्लड बैंकको अभावका कारण रगत व्यवस्थापनमा कठिनाइ हुने गरेको बताए। “कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पोस्टिङमा आएका विद्यार्थीलाई रगत दिन तयार राखेर शल्यक्रिया गर्नुपरेको अवस्था छ,” पाण्डेले भने।
अस्पतालका अनुसार पछिल्ला चार दिनमा जिल्ला अस्पताल कालिकोटमा चार वटा महत्त्वपूर्ण शल्यक्रिया मार्फत बच्चा जन्माइएको छ।
जिल्ला अस्पताल कालिकोटका कार्यालय प्रमुख तथा चिकित्सक डा. रत्नविर सुनारले पहिले उपचार अभावका कारण प्रसूतिकै क्रममा धेरै गर्भवतीले ज्यान गुमाउने अवस्था रहे पनि अहिले स्वास्थ्य सेवा विस्तारसँगै स्थिति सुधार हुँदै गएको बताए।