सामाजिक संजाल:

लूसाको मैदान: स्थानीय युवाका लागि अवसर

चैत्र ४, २०८२

कालीकोट — दुर्गम क्षेत्रमै खेलकुद पूर्वाधार निर्माण गरेर उदाहरणीय काम गरेका निर्माण व्यवसायी तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य मानव बम यतिबेला पुनः चर्चामा छन्। उनले आफ्नै व्यक्तिगत लगानीमा सान्नीत्रिवेणी गाउँपालिका–को लूसा स्थित खेलकुद मैदान २०७७ साल कार्तिकमा निर्माण सम्पन्न गरेकाे बताए ।
स्थानीय तहमा खेल मैदानको अभावका कारण खेल गतिविधि प्रभावित भइरहेका बेला बमको पहलले लूसामा व्यवस्थित खेलकुद गतिविधि सञ्चालन हुन थालेको छ। सोही मैदानमा हालसम्म दुई पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा सम्पन्न भइसकेको छ, जसले जिल्लास्तरमै खेलकुदको माहोल सिर्जना गरेको छ।
स्थानीय युवा तथा खेलाडीहरूले उक्त मैदानलाई अभ्यास र प्रतिस्पर्धाका लागि मुख्य केन्द्रका रूपमा प्रयोग गर्दै आएका छन्। यसले नयाँ प्रतिभा पहिचान र प्रोत्साहनमा महत्वपूर्ण टेवा पुर्‍याएको बताइन्छ।
यद्यपि, पछिल्लो समय सामाजिक सञ्जालमा केही आलोचनात्मक टिप्पणीहरू देखिए पनि अधिकांश स्थानीयवासीले बमको पहललाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूले सरकारी पहल नपुगेको ठाउँमा निजी लगानीमार्फत पूर्वाधार विकास गर्नु सराहनीय भएको प्रतिक्रिया दिएका छन्।
स्थानीय सरोकारवालाहरूले यस्ता पहललाई राज्यले समेत प्रोत्साहन गर्नुपर्ने र अन्य क्षेत्रमा पनि यस्तै उदाहरण विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।