स्थायी सरकार मानिेने कर्मचारीतन्त्रमा सरुवा बढुवामा व्यापक चलखेल हुने पुरानै रोग हो । यसपाली सरुवामा व्यापक बेथिति बढेको गुनासो आउन थालेपछि सरुवालाई पारदर्शी र वैज्ञानिक बनाउन मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिवस्तरीय बैठकले मंगलबारदेखि एक साताका लागि कर्मचारी सरुवा रोक्ने निर्णय गरेको छ। यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौ २५ गते सरुवा पारदर्शी र व्यवस्थित गर्न संघीय मामिला मन्त्रालयलाई चिठी पठाएर निर्देशन गरेको थियो।
सचिवस्तरीय बैठकले उक्त चिठीको आधारमा सात दिनभित्र सबै मन्त्रालय/ निकाय/ कार्यालयले कर्मचारीको दरबन्दी र हाल कार्यरत कर्मचारीको विवरण अद्यावधिक गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने गरेको छ। साथै विवरण अद्यावधिक नभएसम्म सेवा समूह सञ्चालन गर्ने मन्त्रालयहरूले कर्मचारीको सरुवा गर्न नपाउने निर्णय पनि गरिएको छ।